Breaking

मौसममा सुधार हुँदा दशैंमा यस्तो देखियो काठमाडौँ, सार्वजनिक यातायातमा चाप थेगिनसक्नु


काठमाडौँ — बडादशैंअन्तर्गत टिकाको तेस्रो दिन शुक्रबार पनि मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशिर्वाद लिने क्रम जारी छ । निरन्तरको झरीका कारण टीका थाप्न नभ्याएकाले मौसम सफा भएपछि भने आज बिहानैदेखि आफन्त तथा मान्यजनका हातबाट टीका जमरा थापिरहेका छन् ।

दुई दिनसम्म झरीका कारण प्रभावित बनेको बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन शुक्रबार तुलनात्मक दिनमा भन्दा बढी चहलपहल देखिएको छ । नवमीदेखि निरन्तर परेको झरीले समस्यामा परेकाहरुले आज भने हल्का राहत महसुस गरे । मौसम सफा भएपछि टीका लगाउन जानेहरुको चटारोले राजधानी काठमाडौँको दृश्य यस्तो देखिन्थ्यो ।

कोही टीका थाप्न हिडिरहेका थिए भने कोही भने टीका लगाईसकेर घर फर्किन यातायात कुर्दै थिए । राजधानीको सडकमा सार्वजनिक सवारी साधन देखिए पनि चाप थेगिनसक्नु थियो । चाडपर्वको समयमा यातायातको अभाव हुने भएकालेसास्ती पाएको यात्रुहरुको अनुभव छ । एक त झरीले दिएको समस्या त्यसमाथि पनि सवारी साधन पाउन मुश्किल, पाईहाल्यो भने पनि सहज यात्रा गर्नै नपाउने, आफ्नो गन्तव्यमा पुग्न साधनको प्रतीक्ष गरिरहेकाले गुनासो गरिरहेका थिए ।

सडकमा सार्वजनिक यातायातको भन्दा बढी नीजि सवारी साधनको चहलपहल बढी छ । टीका लगाउन जानका लागि नीजि सवारी साधन हुनेहरुलाई केही सहज भए पनि सार्वजनिक याताताय प्रयोग गर्नेहरुलाई भने सास्ती छ । झरीका कारण आम मानिसलाई सास्ती भए पनि दुई चार पैसा कमाउन बसेकाहरुलाई भने केही फाइदा नै भएको छ । झरी र यातायातको विकल्पमा मानिसको रोजाई ट्याक्सी पर्ने गरेको छ । झरीकै कारण अन्य दिनको तुलनामा दशैंमा व्यापार राम्रो भएको ट्याक्सी चालक बताउँछन् ।

विजया दशमी अर्थात् टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादको रुपमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन रहेको छ । विशेष गरी दशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने गर्छन् । पूर्णिमा पनि आईतबार नै परेको र सरकारी कार्यालय पनि आईतबार नै सञ्चालन हुने हुँदा त्यसदिन देखि बजारले पनि निरन्तरता पाउने छ ।आइबारपछि भने टीकाको कार्यक्रम औपचारिक रुपमा नै सकिने हुँदा आम नेपालीको दैनिकी दशैं अघि कै अवस्थामा फर्कने छ ।