Breaking

सन्दीप पक्राउपछि रुवाबासी, प्रहरीमाथि वकिलको आक्रोश, आत्मसमर्पणपछि किन हत्कडी ?


काठमाडौँ— अन्ततः नेपाली क्रिकेटका प्रख्यात प्रतिभा सन्दीप लामिछाने पक्राउ परेका छन् । तर कुख्यात अपराधिकै शैलीमा पक्राउ गरेको भन्दै समर्थकहरुले प्रश्न उठाएका छन् । भदौंमा २१ को मध्यरातमा एक १७ बर्षीया नाबालिग किशोरीले आफुमाथि नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले बलात्कार गरेको आरोप लगाएर जाहेरी दर्ता गर्दा प्रहरी पनि तीन छक परेको थियो । जाहेरी दर्ताको केही घण्टा नवित्दै सूचना चुहियो वा जानेरै चुहाइयो, एकाएक सन्दीप स्टारबाट बलात्कारी बन्न पुगे । उनै सन्दीप असोज २० मा आएर आत्मसमर्पण गर्न बाध्य बनेका छन् ।

जाहेरी दर्ताका क्रममा क्यारेबियन प्रिमिएर लिग (सीपीएल) खेल्न जमाइकामा रहेका सन्दीप त्यसयता पटकपटक आउँछु भन्दै प्रहरीलाई छक्याइरहेका थिए । तर बिहिबार बिहानै कतार एयरवेजको बिमानमार्फत सन्दीप नेपाल फर्किएपछि विमानस्थलकै ढोकामा तैनाथ रहेका प्रहरीले सन्दीपको हातमा हतकडी लगाएर थुनामा पु¥याएको छ । विमानस्थलमा सन्दीप लाचार देखिन्थ्ये । सन्दीपको बसमा केही पनि थिएन । जबसम्म उनी विदेशमा लुकेरै बसे, त्यतिबेलासम्म आफ्नै विवेक र योजना मूताविक चलिरहेका थिए ।

तर नेपाल आएर आत्मसमर्पण गर्ने वित्तिकै सन्दीप बन्दी बनेका छन् ।अनुहारमा कालो मास्क लगाएर नेपाल फर्किएका सन्दीपलाई प्रहरीको दलबलले विमानस्थलको अध्यागमन कार्यकालबाटै पक्राउ गरेको थियो । तर अभियुक्तले आत्मसमर्पण गर्दागर्दै पनि कुख्यात अपराधीकै शैलीमा प्रहरीले हतकडी लगाएरै पक्राउ गरेपछि सन्दीप लामिछानेका वकिलले आक्रोश व्यक्त गरेका छन् । उनले सन्दीपमाथि राज्य खनिएको आरोप लगाएका छन् । सन्दीपले यसअघि कानुन व्यवसायी र प्रहरीलाई पत्र पठाउँदै आफुलाई हतकडी नलगाईदिन अनुरोध गरेका थिए । तर त्यसलाई अस्वीकार गर्दै आफ्नै वकिललाई समेत भेट्न नदिएको सन्दीप पक्षको दाबी छ ।

किनकि आरोपितलाई पक्राउ गर्न हतकडी लगाउनैपर्छ भन्ने व्यवस्था स्पष्ट छैन । नेपाल प्रहरीका अधिकारीहरुका अनुसार पनि पक्राउ परेका व्यक्तिलाई भाग्न उम्कन नदिने भन्ने कानुनी व्यवस्था छ । हतकडी लगाउनैपर्छ भन्ने उल्लेख गरिएको छैन । फिल्डमा खटिएका प्रहरीले आवश्यकता अनुसार हतकडीको प्रयोग गर्ने हो । तर नेपालमा मात्रै नभएर पक्राउ परेकाहरुलाई हतकडी लगाउने अन्तर्राष्ट्रिय अभ्यास छ ।

तथापी सन्दीपले आत्मसमर्पण गरेसँगै अब उनीविरुद्धको बलात्कार मुद्धाले न्यायिक निरुपणको बाटो पक्डिएको छ । पक्राउ लगत्तै केएमसी हस्पिटल लिएर प्रहरीले स्वास्थ्य चेकजाँच गरेको छ ।