काठमाडौँ — चन्द्रागिरि नगरपालिकाले बिहीबार राति पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई तत्काल किरिया खर्चबापत ५० हजार रूपैयाँ दिने भएको छ । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले शुक्रबार बिहान घटनास्थल अवलोकन तथा पहिरो पीडितका आफन्तजनसँग कुराकानी गर्दै उक्त जानकारी दिएका हुन् ।
राति साढे एक बजे चन्द्रागिरि नगरपालिका-२ तल्लो मसिनेस्थित ध्यानकेन्द्र पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार मृतकहरूमा श्रीमान-श्रीमती र छोरी छन् ।मृतक काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीय रेखा र डेढ वर्षीया छोरी सारफी तीन वर्षयता चन्द्रागिरिमा घर बनाएर बस्दै आएका थिए ।
पहिरोले उनीहरू बसेको कच्ची घर बगाएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरूको शव बिहान ६ बजे निकालिएको थियो । पहिरोले थप क्षति हुन नदिन स्थानीय क्षेत्रमा अवरूद्ध बाटो खुलाउने काम भइरहेको उनले बताए । स्थानीयवासीका अनुसार ध्यान केन्द्रमा बसेका श्रेष्ठ परिवार दमका बिरामी थिए ।


प्रतिक्रिया