काठमाडौँ — नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणीले बिहान ११ः५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलव ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।
नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ । यहाँ ११ मिटर पुग्नासाथ खतराको तह संकेत हुन्छ । पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका वासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ ।
भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । आपतकालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गरेका छन् ।
भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरु बाढीको जोखिममा छन् । राप्ती र नारायणी दुवै नदीको तटीय क्षेत्र भरतपुर २७ र २८ नम्बर वडामा बढी जोखिम छ ।
वडा नम्बर १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने बस्तीमा जोखिम रहेको छ । वडा नम्बर २२, २३, २४, २५ र २८ का राप्ती नदीको तटीय क्षेत्रका बस्तीहरू पनि जोखिममा छन् ।


प्रतिक्रिया