देश

बर्दियामा चट्याङसहितको अविरल वर्षा


काठमाडौँ— बर्दियामा चट्याङ र गड्याङ्गुडुङसहित अविरल वर्षा भइरहेको छ ।

मंगलबार रातीदेखिको निरन्तर वर्षा शुक्रबारदेखि गड्याङ्गुडुङ र चट्याङसहित वर्षा हुन थालेको छ। निरन्तरको वर्षाले बबई नदीको सतह घट्न सकेको छैन । नदीमा बाढी आएपछि नदी तटीय क्षेत्रका सयौं स्थानीयहरु प्रभावित भएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको वेभसाइट हाइड्रोलोजीमा राखिएको सूचना अनुसार चेपाङको बबई नदी जलमापन स्टेशनमा पानीको सतह फेरि बढेर ६ दशमलव ३५ मिटर पुगेको छ । चेपाङमा ५ दशमलव ५० मीटर चेतावनी तह र ६ दशमलव १० मिटर खतराको तह मानिन्छ । नजिकका जिल्लालगायत आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले पानीको सतह थप बढ्न सक्ने अनुमान गरिएको छ ।

बर्दियाको बबई बेशीन अन्र्तगत रानीजरुवा नर्शरी स्टेशनमा २४ घण्टामा १९४ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै बबईको रम्भापुर स्टेशनमा २०८ दशमलव ६ मिलिमिटर वर्षा भएको जनाइएको छ ।

अविरल रुपमा बर्षा भएपछि बबई नदीमा पानीको सतह घट्न पाएको छैन । बर्दियामा चट्ङ र गड्याङ्गुडुङसहित अविरल वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए । चट्याङ परेपछि जंगलतिर परेकाले गाउँघरमा कुनै क्षतिको जानकारी नआएको उनको भनाइ छ ।

बर्दियाको गुलरिया नगरपालिका अन्र्तगत बालापुर, बिक्री, सूर्यगौडी, ईन्द्रपुर, मुक्तिनाथ टोल लगायतका स्थानहरुमा बबईको बाढी पसेपछि स्थानीयहरु पीडित भएका छन् । बबई नदीमा आएको बाढीका कारण बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ५ बालापुरमा ३५ घर, गुलरिया वडा नम्वर ८ मुक्तिनाथ टोल र अन्यमा २१ घर, वडा नम्वर ११ ईन्द्रपुरमा १० घर, वडा नम्वर १२ बिक्रीमा ३ घर गरी ६९ घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताए ।

बाढीका कारण कुनैपनि मानविय तथा भौतिक क्षती नभएको उनले जानकारी दिए । बाढी प्रभावितहरु सडक किनारको त्रिपाललगायत विध्यालयमा आश्रय लिइरहेका छन् ।