देश

प्युठान–भालुवाङ सडक खण्ड अवरुद्ध


काठमाडौँ— प्युठान–भालुवाङ सडक खण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।

पहिरोले वैकल्पिक सडक र अधिकांश ग्रामीण सडकहरु समेत अवरुद्ध भएको प्युठानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार जिल्लाको देविस्थान, मुर्कुटी हुँदै दाङ झर्ने सडक र खलंगा, चुजाठाँटी हुँदै अर्घाखाँची जाने सडक समेत बिहानैदेखि अवरुद्ध भएको छ। मुख्य बाटो अवरुद्ध हुँदा प्युठान र रोल्पा आवतजावत गर्ने यात्रुहरुलाई सास्ती भएको छ।

पछिल्लो समय मुख्य सडकसँग जोडेर खनिएका शाखा सडकबाट पानी पर्नासाथ ढुङ्गा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको स्थानीयले बताएका छन्।

पानीका बाबजुद पनि बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।