काठमाडौँ — नेपाली कांग्रेसले कारबाही गरेका नेता पुष्करनाथ ओझाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । धनगढीमा शुक्रबार बिहान समर्थकसँग छलफल गर्दै ओझाले निर्वाचनको तयारीमा रहेको बताएका हुन् । यस्तै उनले कांग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेको समर्थकसँग बताएका छन् ।
आफू सर्वदलीय हुन खोजेको भन्दै उनले स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘म सर्वदलीय हुन चाहान्छु । मैले उठाएको प्रश्न सर्वदलीय होस्। यो एक पार्टीको मात्र समस्या होइन । सबै दलहरूको हो ।’
पूर्व मन्त्रीसमेत रहेका ओझाले समर्थकहरूसँग प्रवृति विरुद्धको संघर्षको नेतृत्व आफूले गर्ने पनि बताए। उनले भने, ‘कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र चाहिनेरु’ धनगढीबाट विद्रोहको सुरुवात भएको बताएका ओझाले ठाउँ सानो भएपनि आयम ठुलो हुने दाबी गरे ।
‘धनगढीका जनता मुठीभर भन्दै थिए। छन, तर क्षमतावान छन्’, उनले समर्थकसँग भनेका छन्, ‘म एक पार्टीको मात्र विद्रोही हैन, कम्युनिष्टमा पनि छन् । कम्युनिष्टमा विद्रोही छन्, तर विरोध गर्न सक्दैनन् । सबैको नेतृत्व म गर्छु, कोही तयार छैन, म नलडे कोही लड्दैन । कुनै पनि खालको सम्झौता हुँदैन ।’
उनले नेपाली कांग्रेसले भिलेन बनाएको बताएका छन् । ‘चार पटक चुनाव लड्ने इच्छा गरे, केही पटक लड्दैन भने, दवाब दिँदा पनि लड्दैन भने । अहिलेका जस्तो रहर कहिलै भएन । अहिले मसँग केही छैन । जुन दलमा सम्पूर्ण जीवन लगाए, उसको नजरमा म भिलेन छु। त्यसैले त मलाई कारबाही गरेको होला ।’
निर्वाचनका लागि ५० लाख ऋण लिएकोसमेत उनले समर्थकहरूलाई सुनाएका छन् । अन्य क्षेत्रबाट पनि सहयोग आउन थालिएको उनले बताए । दिउसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी घोषणाको तयारीमा उनी छन् ।


प्रतिक्रिया