देश

भारतमा सशस्त्र प्रहरीका असई मृत फेला


काठमाडौँ— सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक असई भारतमा मृत फेला परेका छन् ।

सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार मृत भेटिएका हुन् ।

उनी सिरहाको भगवानपुर २ का बासिन्दा हुन् । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भएका यादव १८ असोजदेखि २१ गतेसम्मका लागि विदामा रहेको गणका प्रमुख एसपी प्रदीप खड्काले जानकारी दिए । उनी दशगजा क्षेत्रदेखि तीन किलोमिटर दक्षिण मृत भेटिए । उनको शवलाई भारतको कानुनी प्रकृया पूरा गरी नेपाल ल्याइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश सिंहले जानकारी दिए ।

उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र शुक्रबार पोष्टमार्टम गरिने बताईएको छ । । असई यादव मृत फेला परेको सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।