Breaking

विश्व शेर्पा दिवसको अवसरमा शेर्पा भाषा एप्स सार्वजनिक गरिँदै


काठमाडौँ — विश्व शेर्पा संघ (जम्बुलिङ शेर्वी छोक्पा)ले विश्व शेर्पा दिवस अर्थात् ग्लोबल शेर्पा डेको अवसरमा ‘शेर्पा भाषाको एप्स’ सार्वजनिक गर्ने भएको छ ।शेर्पा भाषा सिकाइ, प्रयोग र अनुवादलाई सहज बनाउने उद्देश्यलेएप्स निर्माण गरिएको बताइएको छ ।

चाबहिल चुच्चेपार्टीस्थित स्मार्ट पार्टी प्यालेसमा शनिबार आयोजित विशेष कार्यक्रममा एप्स सार्वजनिक गरिने विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले जानकारी दिनुभयो । ‘शेर्पा भाषा एप्स’ प्रसिद्ध धर्मगुरुको बाहुलीबाट सार्वजनिक गरिने र उक्त कार्यक्रम विश्वभरबाट भर्चुअल जुममार्फत पनि सहभागिता जनाउन सकिने शेर्पाले जानकारी दिनुभयो ।

अक्टुबर ८ तारिखमा मनाइने शेर्पा दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । विश्व शेर्पा संघ जम्बुलिङ शेर्वी छोक्पाले सन् २०१७ देखि विश्व शेर्पा दिवस मनाइँदै आएको छ ।

कार्यक्रममा नेपाल शेर्पा संघले समन्वयत्मक भूमिका निर्वाह गर्ने छ । कार्यक्रम सफल बनाउन किदुग, विभिन्न संघसंस्थाहरूलाई आग्रह गरेको संघका अध्यक्ष गेल्जे लामा शेर्पा बताउनुभयो । युवापुस्तामा शेर्पा भाषाको संरक्षण, विकास र विस्तारका लागि एप्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

‘एप्स’ मार्फत भाषा प्रयोग, उच्चारणको शैली सिक्न सकिने छ । एप्समा शेर्पाहरूको विवाह, जन्मलगायत सामाजिक संस्कारका विषय राखिने छ । एप्सलाई सरल र सहज रुपमा प्रयोगका लागि उच्च प्रविधि अपनाइएको संघले जनाएको छ ।

एप्सले युवाहरूलाई भाषा सिक्न सहज हुने र आम शेर्पा समुदायमा भाषा शैलीमा एकरुपता ल्याउन सहयोग पुग्ने सरोकारवालाहरूको भनाइ छ । विभिन्न देशमा बसोवास गर्ने शेर्पा समुदायहरूले आर्थिक सहयोगमा ‘एप्स’ निर्माण गरिएको हो ।