मौसम

भेरीमा जलसतह खतराको तहनजिक


 काठमाडौँ – केही दिनदेखि देशका विभिन्न भागमा निरन्तर पानी परिरहेको छ । निरन्तर पानी पर्दा बाढी आउने क्रम जारी छ । कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । र, थप पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत उक्त जिल्लाको साना खोलाहरूमा एक्कासी बाढी आउन सक्ने भन्दै विभागले होचा डुबान हुने स्थानमा दिउँसो १२ बजे सम्म सतर्क रहन भनेको छ । 

पछिल्लो ३ घण्टादेखि भेरी जलाधारको विभिन्न स्थानमा भारी वर्षा भई जलसतह खतरा तह आसपास पुगेको छ । र, थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएको छ । यी क्षेत्रमा थप वर्षा हुने भएकाले साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने विभागले जनाएको छ । दिउँसोसम्म सतर्क रहन विभागले भनेको छ ।