Breaking

सन्दीपको पर्खाइमा विमानस्थलमा प्रहरी


काठमाडौँ – नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० बजे नेपाल आइपुग्ने भएपछि प्रहरीको टोली विमानस्थलमा पुगेको छ ।

कतार एअरवेजको जहाजबाट नेपाल आउने बताइएपछि प्रहरीको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरेर बसेका छन् ।

विमानस्थलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको छ । उनलाई कसरी लैजाने भनेर प्रहरीहरु तयारी अवस्थामा बसेका छन् । लामिछानेले नै आफू १० बजेर नेपाल आइपुग्ने बताएका थिए ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौँको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौँको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न जमैका गएका थिए । उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ । सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।

प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमाण संकलन गरिसकेको छ । प्रमाणका रूपमा सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटेलका कर्मचारीको बयानलाई राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।