Breaking

१० बजे नेपाल आइपुग्दै सन्दीप लामिछाने

प्रहरीसमक्ष आत्मसमर्पन गर्ने


काठमाडौँ — क्रिकेटर सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने भएका छन् । कतार एयरवेजबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।

१७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ ।

उनले आफू निर्दोष रहेको र आफूलाई फसाइएको दाबी गर्दै आएका छन् । नेपालको न्यायालयले आफूलाई न्याय दिनेसमेत उनले बताउँदै आएका छन् ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौँको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौँको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

भदौ ६ गते सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न केन्या प्रस्थान गरेका थिए । त्यहीँबाट उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका थिए । उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ । सन्दीपलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ ।

प्रहरीले जाहेरीका आधारमा सन्दीपविरुद्धका प्रमाण संकलन गरिसकेको छ । प्रमाणका रूपमा सीसीटीभी फुटेज, पीडितको बयान, स्वास्थ्य परीक्षण, होटेलका कर्मचारीको बयानलाई राखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।