काठमाडौँ — एन्फा नेतृत्वले उपेक्षा गरेको एएफसी यू–१७ एसियन कप छनोटमा नेपाली युवा टोली आज प्रतियोगिताको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाल्यान्डलाई हराउँदै प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्य रहेको बताएका छन् । नेपाली टोलीले भियतनाम जानुअघि श्रीलंकामा यू–१७ साफ च्याम्पियनसिप खेलेको थियो । जहाँ नेपाल उपविजेता बनेको थियो । ६ टिम सहभागी साफ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’को विजेता बनेको थियो । नेपालले समूह चरणमा बलियो प्रतिद्वन्द्वी भारतलाई ३–१ ले हराएको थियो । तर, फाइनलमा नेपाल त्यही भारतसँग ४–० ले पराजित भएपछि उपविजेतामा चित्त बझाउनु परेको थियो ।
श्रीलंकामा सम्पन्न साफ च्याम्पियनसिपको टोलीमा प्रशिक्षक श्रेष्ठले दुई खेलाडी परिवर्तन गरेका छन् । श्रेष्ठले मिरिक लिङ्देन र प्रितम कार्कीको स्थानमा राम थापा र श्रेयान्स मानन्धरलाई टोलीमा समावेश गरेका छन् ।
मलेसियामा १२ घण्टाको ‘ट्रान्जिट‘पछि नेपाली टोली सोमबार नेपाली समयअनुसार २ः३० बजे भियतनाम पुगेको थियो । भियतनाममा नेपाली टोलीले सोमबार र मंगलबार प्रशिक्षण गरेको सकेको छ । जुन भियतनामी वातावरण, मैदानसँग घुलमिल हुने प्रयास थियो । प्रशिक्षक श्रेष्ठले सबै खेलाडी फिट भएको बताएका छन् ।
भियतनामको फु थोस्थित भियत त्री रंगशालामा नेपालले थाइल्यान्डविरुद्ध नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल्नेछ । थाइल्यान्डका मुख्य प्रशिक्षक पिपोब अनमोले समूहका सबै टिम बलिया रहेको भएको र उनीहरूको सामना गर्न आफूहरू पूर्णरूपमा तयार रहेको बताएका छन् ।
प्रतिक्रिया