Breaking

दशैंलाई खर्चिलो र भड्किलो नबनाऔँ : उपराष्ट्रपति पुन


काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन् ।

बडादशैंको अवसरमा आज शुभकामना दिँदै पुनले दशैंले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

दशैंले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन् ।

प्रकृतिको सुन्दर छटामुनि रहेका हामी नेपाली धर्म, संस्कार, संस्कृति, परम्परा र मूल्यमान्यताले अत्यन्त धनी रहेको उल्लेख गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने सबैखाले चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको बताए ।

नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना थर्दै उपराष्ट्रपति पुनले दशैं, तिहार, नेपाल संवत् र छठजस्ता महत्वपूर्ण चाडपर्वलगत्तै सार्वभौम नेपाली जनताको महान् उत्सवको रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र संविधान कार्यान्वयनकै महत्वपूर्ण पक्षको रुपमा रहेको निर्वाचनमा सहभागिता जनाउन तथा सार्वभौम मताधिकार प्रयोग गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आग्रह गरेका छन् ।