Breaking

जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु, ९ घाइते


काठमाडौँ – भारतको उत्तराखण्डमा गएराति बस दुर्घटना हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

हरिद्वारको लालढांगबाट ५० जना जन्ती बोकेर काडागाउँ जाँदै गरेको बस पौडी गढवाल जिल्लामा दुर्घटनामा परेको हो । रातिमा भएको दुर्घटनाका कारण घाइतेको उद्धारमा कठिनाइ भएको अधिकारीहरुले जनाएका छन् । अँध्यारो खोचमा बस दुर्घटना भएको खबर पाएपछि स्थानीयवासीहरु गएर मोबाइलको लाइट बालेर उद्धार गरेका थिए ।

राति १ बजे प्रहरीले दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल भर्ना गराएको छ । जसमध्ये केहीको अवस्था गम्भीर छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मध्यरातमा भएको दुर्घटनामा तत्काल उद्धारका लागि पुगेका प्रहरी र स्थानीयवासीलाई धन्यवाद दिए ।