Breaking

ललितपुरमा तीनठूला भिडन्त,एमाले पत्तासाप बनाउँदै गठबन्धन, उदयलाई तर्साउदै सिलवाल, पम्फा संकटमा


काठमाडौँ — काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये राजनीति प्रतिस्पर्धाका हिसावले ललितपुर दोस्रो ठूलो चासोको क्षेत्र हो । गत निर्वाचनमा एमाले–माओवादी मिल्दा काँग्रेस यहाँ पत्तासापनै बनेको थियो । अहिले माओवादीलाई साथमा लिएर काँग्रेसले बदला लिन खोजिरहेको छ ।आगामी मंसिर ४ को चुनावका लागि ललितपुरका ३ निर्वाचन क्षेत्रमा लगन जुराउन सत्तागठबन्धनबीच हानथाप छ, नेकपा एमालेमात्रास छ ।गएको निर्वाचनमा एमाले–माओवादीबीचवाम गठबन्धन बन्दा क्लिन स्वीप भएको थियो । अहिले माओवादी काँग्रेसतिर गएर एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको छ ।

तीन निर्वाचन क्षेत्रमै एमालेलाई पत्तासाप बनाउने गठबन्धनको तयारी छ । यहाँ नेपाली काँग्रेसले माओवादीलाई एक क्षेत्र दिएर बाँकीमा आफ्नै विरासत फर्काउन चाहेको छ । तर नेकपा एकीकृत समाजवादीको पनि एक निर्वाचन क्षेत्रमा दाबी रहेकालेगठबन्धनमा गडबढी चलिरहेको छ । तर स्थानीय तहको मतपरिणाम अनुसार यहाँ काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो हो ।

महानरपालिकासहित सिट ४ काँग्रेसले जितेको छ भने दुई एमालेको पोल्टामा पर्दा माओवादी नेतृत्वविहिन बनेको छ । समाजवादी यहाँ हैसियतविहिन जस्तै छ । निर्वाचन क्षेत्र नम्बर एकमा एमाले र काँग्रेसकै मुख्य प्रतिस्पर्धा हुनेछ । यहाँ प्रहरीको आइजीपी बन्ने सपना चकनाचुर भएपछि एमालेमार्फत राजनीतिमा आएका नवराज सिलवालले टिकटमात्रै पाएका थिएनन् कि नेपाली काँग्रेसका बलिया दाबेदार उदयशम्सेर राणालाई झण्डै ६ हजार मतले पराजित गरेका थिए ।

सिलवालको जितमा माओवादीको साथ रहेपनि अहिले एमाले एक्लै छ । एमालेबाट पुनः सिलवाल नै उम्मेदवार बन्ने पक्कापक्की रहेका बेला गठबन्धनबाट यो क्षेत्र काँग्रेसले पाउने र राणा नै हातमा टिकट जाने बलियो सम्भावना छ ।यसपटक माओवादीको साथ लिँदै एमालेविरुद्ध हारको बदला फर्काउने चाहना राणाको छ ।विगतमा चुनावी स्टण्टकै लागि विकट गाउँगाउँसम्म पुगेर किसानका बारीको धान काट्न भ्याएका र गाई दुहेर चर्चा कमाएका उनीहरु अब फेरि गाउँ पसेका छन् ।

ललितपुर २ गठबन्धनमा सहमति सहमति नजुटेको क्षेत्र हो । यो क्षेत्रमा माओवादी पन्छिएपनि काँग्रेस र एकीकृत समाजवादीको दाबी छ । काँग्रेस तीन नम्बर क्षेत्रमा दाबी गरिरहेका मदन अमात्य र जीतजंग बस्नेत यहाँ ल्याएर व्यवस्थापन गर्न चाहन्छ, तर जनाधार नभएपनि समाजवादीको दाबीसमेत रहेपछि सहमतिको गुन्जाएस छैन । देउवा पनि आफुनिकट नेताहरुको व्यवस्थापनका लागि पनि यो क्षेत्र छोड्ने पक्षमा छैनन् ।

गत निर्वाचनमा एमालेबाट कृष्णलाल महर्जन र काँग्रेसबाट चन्द्र महर्जन भिडेका थिए । दाजुभाइको भिडन्तले निकै चर्चा पाएपनि एमालेका कृष्णलाल महर्जनको जित काँग्रेसलाई भारी परेको थियो ।यसपटक पनि गठबन्धनको असहमतिमै जीत खोजिरहेको एमालेका लागि ललितपुरको यो क्षेत्र फलदायी हुनसक्छ । यहाँ डा. दीपेश केसीले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् । रोचक त के छ भने, यहाँका तीनै क्षेत्रमध्ये सबैभन्दा बढी रस्साकस्सी तीन नम्बर निर्वाचन क्षेत्रमा छ ।यो माओवादीकी उपमहासचिव तथा वहालवाला उर्जामन्त्री पम्फा भुसालको क्षेत्र हो ।

यसपटक पनि आफैले पाउने पर्ने दाबी भुसालको छ । तर देउवासँग निकै निकट रहेका तरुणदलका पूर्वअध्यक्ष जीतजंग बस्नेत र मदन अमात्य काँग्रेसका आकांक्षी हुन् । गत निर्वाचनमा एमालेको समर्थनसहित भुसालले जित निकाल्दा काँग्रेस अमात्य पराजित भएका थिए । अहिले अमात्यसहित बस्नेत पनि गठबन्धन स्वीकार्दै भुसाललाई भोट माग्नुपर्ने बाध्यतामा छन् । तर २० हजार मत भएको काँग्रेसले १० हजार पनि मत नभएको माओवादीलाईनछोड्न काँग्रेस नेताहरुको दाबी छ ।

गएको निर्वाचनमा माओवादीलाई यो क्षेत्र सुम्पिएको एमाले भने आफैले जिताएकी भुसाललाई हराउनुपर्ने बाध्यतामा छ । यसका लागि एमालेबाट अमृत खड्का, केशव आचार्य, बाबुराम थापा र रेनुका बजगाइँ सिफारिसमा परेका छन् । त्यसमध्ये अमृत खड्का र बाबुराम थापाको बलियो सम्भावना छ ।तर माओवादी पाँचैबर्ष सरकारको रहेको र बहालवाला मन्त्रीकै उम्मेदवारी पर्ने सम्भावनाले एमालेका लागि जित निकाल्ने निकै सकस छ ।

तर यहाँ रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अरनिको पाँडे र दलीय उम्मेदवारलाई चुनौती दिँदै डा. तोसिमा कार्कीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । सरसर्ती हेर्दा स्वतन्त्रभन्दा दलीय उम्मेदवार नै यहाँका निर्वाचन क्षेत्रमा बलिया छन् । त्यसमा पनि पाँच दलीय गठबन्धन इमान्दारिताका साथ चुनावमा गए एमालेका लागि निकै संकट आउन सक्छ । तर एमाले, गठबन्धनमा गडबढी भए, आफ्नै पोल्टामा मतभार पल्टिने मौका कुरेको छ ।