काठमाडौँ — सामन्यत जेठको अन्तिमसाता सुरु हुने मनसुन असोजको पहिलो साता सकिनु पर्ने हो । तर पछिल्लो समय मनसुन ढिला सुरु हुने र ढिला नै सकिने गरेको छ । अक्टोवर दुईमा बाहिरिनु पर्ने मनसुन ठ्याक्कै दशैकै समयमा सक्रिय हुँदा यो वर्षको दशैं हिले दशै भएको छ । वर्षाका कारण नेपाल जनको दशैं प्रभावित हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार उपत्यकासँगै देशभर सामान्यदेखि मध्यम वर्षा भएको छ ।
बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा परेको हो । दशैँको टीकाको दिन देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
टीकाको राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । टिकाको भोलिपल्ट अर्थात् बिहीवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बिहीवार राति सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । शुक्रवार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
मुलुकभर शुक्रवारसम्म सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनकारी दिएको छ । वर्षाका कारण सर्वसाधरणको दशै प्रभावित भएको छ । नवमीदेखि सक्रिय मनसुन द्वादशीसम्मै कायम रहनेछ । जसका कारण यो वर्षको दशै हिले दशै हुने भएको छ ।
दशैं अवधिभर नै पानी पर्ने हुँदा सडक तथा हवाई यातायात सेवा समेत प्रभावित हुने सम्भावना रहेकाले यात्रा गर्दा सर्तकता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन । दशै वर्षामय हुने भएकाले टिका लगाउन जाँदा विशेष गरी खहरे खोलानालहरुमा सावधानी अपनाउन जरुरी देखिन्छ ।
प्रतिक्रिया