विदेश

चीनमा मनाइयो नेवारी कुछी भ्यः


काठमाडौँ विजया दशमीको आठौँ दिन महाअष्टमीमा पर्ने नेवार जातिको कुछी भ्यः चाड चीनमा पनि मनाइएको छ।

विभिन्न चाड पर्वमा चिनियाँसँगै मिलेर रमाउँदा थोरबहुत नेपाली पर्यटनको प्रवर्द्धन पनि भइरहेको छ। यही मेसोमा सोमबार साँझ काठमाडौँका नेवार समुदायले जस्तै १९ प्रकारका परिकार बनाएर चीनमा बसोबास गर्ने नेपालीले चिनियाँलाई चखाएका छन्।चीनको दक्षिणपूर्वमा पर्ने चच्याङ प्रान्तको यिऊमा बसोबास गर्ने नेपालीले सोमबार साँझ भेला भएर कुछी भ्यः मनाएका हुन्। उनीहरुले बजी, मायवः, ग्वःखेँ कुचा, कुँन्या, केरा, आमसी, फःसी, भुती, पँला, केउ, वाउँचा, खय्पी, चय्पी, नलू, क्वेँ, हिघासा, छोयला, थ्वँ र जुजु धौ बनाएर चिनियाँसँग खाएका छन्।

नेवारी संस्कृतिमा महाअष्टमीको साँझ सुकुलमा पलैँटी मारेर बसेपछि यी परिकार खाने चलन छ। यिऊमा नेपाल चीन च्याम्बर्स अफ कमर्सको शाखा छ। त्यसैगरी गैरआवासीय नेपाली संघको शाखा पनि सक्रिय छ।यी दुई संस्थाको संयोजनमा दशैँ, तिहार, तथा नेपाल संवतका अवसरमा विविध कार्यक्रम आयोजना हुने गरेका छन्। यो पटक चीनले शून्य कोभिड नीतिलाई कडाइका साथ लागू गरेकाले ठूलो जमघटमा दशैँ मनाउन कठिनाइ भएको थियो।

महाअष्ठमीका दिन कसैले औपचारिक कार्यक्रम आयोजना नगरेको भए पनि रवीन्द्रकुमार मालीको घरमा सबैजना भेला भएका थिए। चीनमा बसेर व्यवसाय गरिरहेका माली गैर आवासीय नेपाली संघ चीन शाखाका सहकोषाध्यक्ष हुन्। भेला भएका लगभग ४० जनामा आधा चिनियाँ थिए । नेपालीसँग बिहे गरेका चिनियाँ र उनीहरुका आफन्त सहभागी भएका थिए ।नेवारी प्रचलनमा कुछी भ्यः मनाउँदा सबैभन्दा वरिष्ठ व्यक्ति पूर्वतिरको अग्रिम आशनमा बस्नुपर्छ। त्यसपछि उमेर अनुसार घट्तो क्रममा अरुहरु बस्ने चलन छ। सबैभन्दा अन्तिममा चाहिँ अगाडि बस्ने मूलीकी श्रीमती बस्ने चलन छ। श्रीमतीले भोजमा भेला भएका सबैको सुरक्षा गर्नका लागि यसरी अन्तिममा बस्ने चलन रहेको हो।

त्यसैगरी यिऊमा रहेका नेपालीले नवमीका दिन मंगलबार गाडी पूजा पनि गरेका छन्। चीनमा नेपालीहरुले सामूहिक रुपमा आफ्ना सवारी साधनको पूजा गरेको पनि पहिलोपटक हो।