देश

नक्कली नोटसहित भारतीय पक्राउ


काठमाडौँ— नेपाली रुपैयाँ ३१ हजार बराबरको नक्कली नोटसहित सिरहा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत सितामढी जिल्लाको भासर मछहा ग्रामपञ्चायत–८ भन्सार चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह छन् ।

प्रहरीका अनुसार रेजाउल्लाहले गत शनिबार असोज १५ गते दिउँसो सिरहाको नरहा गाउँपालिका–५ मा स्थानीय कृपाल यादवले सञ्चालन गरेको किशोरी ट्रेडर्स किसाना पसलमा १ बट्टा पाइलट चुरोट खरिद गरेका थिए।चुरोटको भुक्तानी गर्दा रेजाउल्लाहले दिएको १००० रुपैयाँको नोट शंकास्पद लागेपछि पसल सञ्चालक यादवले प्रहरीलाई जानकारी दिएका थिए ।

यादवले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी टोलीले रेजाउल्लाहलाई नियन्त्रणमा लिएको हो।प्रहरीले उनको साथबाट १ हजार दरका ३१ थान नक्कली नोटसहित चाँदीको सिक्री, चाँदीको औंठी, चाँदीको ब्रासलेट लगायत सामग्री बरामद गरेको छ ।