काठमाडौँ— दसैँको समयमा माछामासु धेरै नै खाइन्छ । माछामासु खाएपछिको दाँतमा अल्झने त सोभाबिक नै हो। यस्तो बेला सिन्कोले दाँत कोट्याउने आम प्रवृत्ति छ । त्यसो त माछामासु खाएको बेला मात्र होइन, अन्य दिनमा पनि खाना खाइसकेपछि दाँत कोट्याउने बानी हुन्छ । सामान्य लाग्ने यो बानी कति खर्चिलो रहेछ भने भन्सार विभागको पछिल्लो तथ्यांकले छर्लङ्ग पार्छ ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षमा यसपाली नेपालीले दुई करोड ५३ लाख ५२ हजार रुपैयाँको सिन्कोले दाँत कोट्याएका छन् । अर्थात कूल ८४ हजार ३ सय ८७ किलोग्राम बराबरको सिन्को खपत विदेशबाट खपत भएको छ ।जबकि यसरी दाँत कोट्याउँनु उचित नभएको तथा दाँतलाई कमजोर बनाउने दन्त रोग विशेषज्ञहरु बताउँछन् ।
दाँत कोट्याउँदा गिजामा घाउ हुने, पाक्ने, सुनिने भएर दाँतमा फोहोर जम्ने हुन्छ । दाँतमा खाल्डो पर्ने र त्यसैमा किटाणुहरु रहने जोखिम हुन्छ र दाँतमा टुथपिक भाँचिन पनि सक्छ र आरसिटी गर्नुपर्ने वा दाँत निकाल्नुपर्ने पनि हुनसक्छ ।
कतिपयले दाँतभित्र अड्किएका यस्ता सिन्को निकाल्दैनन् । त्यसले बिस्तारै समस्या दिन थालेपछि अरु जटिलता थपिन सक्छ। दाँतको बीचको खाली भागमा अल्झिएको सिन्कोले गर्दा संक्रमण हुने, अन्य खानेकुरा पनि त्यही जमेर बस्ने जस्ता समस्या हुन्छ जसका कारण दाँत र गिजामा निकै हानि पुग्छ ।
कुनैपनि खानेकुरा खाइसकेपछि सफा पानीले राम्ररी कुल्ला गर्ने, औंलाले दाँत घोट्ने वा हल्का ढंगले ब्रस गर्ने उपाय उचित हुने चिकित्सकहरुको सुझाव छ । दाँतमा खानेकुरा अल्झिएमा डेन्टल फ्लोस वा इन्टर डेन्टल ब्रस प्रयोग गरेर खानेकुरा निकाल्न सकिन्छ ।
डेन्टल फ्लोस भनेको धागोले दाँतको कुनाकाप्चाबाट खानेकुरा निकाल्ने विधी हो । यो साामन्य धागोभन्दा फरक हुन्छ । यस्तो धागो सजिलै चुडिने वा टुक्रिने हुँदैन ।इन्टर डेन्टल ब्रस पनि प्रयोग गर्न सकिन्छ, जुन अन्य ब्रसको तुलनामा सानो हुन्छ । दाँतको फ्लोस गरिसकेपछि नुन राखिएको मनतातो पानीले दाँत कुल्ला गर्नु उचित हुन्छ । यसरी कुल्ला गर्दा सुन्निएको गिजा ठीक हुने र संक्रमणको जोखिम पनि हुँदैन ।
डेन्टल फ्लोस सधैभरी आफुले बोकेरै हिँड्न सकिन्छ । इन्टर डेन्टल ब्रस दिनमा दुई पटक प्रयोग गर्न सकिन्छ । यी दुबै चिज डेन्टल क्लिनिक, मेडिकल वा डिपार्टमेन्ट स्टोरहरुमा सजिलै पाइन्छन् ।त्यस्तै खानेकुरा खाने वित्तिकै फ्लोस गर्ने बानीले ९० प्रतिसतसम्म दाँतको समस्या कम हुन्छ ।


प्रतिक्रिया