समाचार

विश्व पशु दिवस मनाइँदै


काठमाडौँ – जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज (अक्टोबर ४) मा विश्व पशु दिवस मनाइँदै छ ।

पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलत बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिन्छ । पूर्वीय सभ्यतामा जनावरलाई अझ विशेष महत्व दिएको पाइन्छ । हिन्दू धर्मावलम्बीमा पशुलाई देवताको प्रतीकको रुपमा पूजा गर्ने संस्कार रहेको छ ।

विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने प्रचलन छ । तिहारमा विशेष गरी पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ । अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ तर पछिल्लो समय पूजा गरिने गाईको संरक्षण भने हुन सकेको छैन ।

राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ। गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन् ।

बेदकोट नगरपालिकाकाले १२ विघा जमिन भाडामा लिएर व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । सडकमा पशुलाई छाडा छोड्दा सवारी दुर्घटनाको जोखिम बढेको छ भने सडक कुरुपसमेत हुने गरेको छ ।