Breaking

डेंगुका बिरामीले मासु खाने कि नखाने ?


काठमाडौँ— दशैं लागे पनि यतिखेर देशभर डेंगु संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको अनुसार हाल सम्म ३० हजार भन्दा बढिलाई डेंगु संक्रमण देखिसकेको छ। काठमाडौं उपत्यकामा त झन घर घरमानै डेंगु संक्रमित रहेको चिकित्सकहरुले बताइरहेका छन।

भर्खरै डेंगु संक्रमण भएर बिरामी भइरहेका हरु र भर्खरै डेंगु सक्रमण भएर सञ्चो भएकाहरुले दशैं को खानपानमा कस्तो सावधानी अपनाउने,के डेंगु भएकाहरुले दशैं मा मासु खान मिल्छ त भनेर टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनको सुझाव यस्तो रहेको छ ।

दशैं भन्ने बित्तिकै विभिन्न प्रकारका मासुका परिकारका साथै अन्य खानेकुराहरु खाने पर्वको रुपमा लिने गरिन्छ। सबै जना घरमानै बसेर बिहानदेखि बेलुका सम्म नै मासुका परिकारहरू दशैं मा खाने गरिन्छ। यति मात्रै होइन घरमा आएका पाहुना र आफू पाहुना भएर जादा पनि मासुकै परिकार खान दिने प्रचलन रहेको छ। यो स्वास्थ्यको हिसाबले खासै राम्रो मानिँदैन। विशेषगरी मधुमेह, मुटु लगायतका दीर्घरोग भएकाहरुले दशैं मा मासु खादा विशेष सावधानी अपनाउनु पर्छ।

अर्को कुरा अहिले हामीले दशैं पर्व मनाइ रहँदा समुदायमा डेंगु संक्रमण उच्च रहेको छ। हाल काठमाडौं उपत्यका सहित देशका केही जिल्ला डेंगु का बिरामी घरघरमा हुनुहुन्छ भने पनि हुन्छ। त्यसैले यसपालिको दशैं लाई चाही म डेंगु दशै भन्छु।

अर्को कुरा परिक्षण गर्ने क्रममा धेरै बिरामीले मलाइ दशैं मा मासु खान हुन्छ कि हुँदैन भनेर सोध्ने पनि गर्नु भएको छ। म के भन्छु भने डेंगु का बिरामीलाई संक्रमण भएको केही समय सम्म खानेकुरा प्रति खासै रुचि हुँदैन। तर यस्ता बिरामीहरुले प्राय सबैकुरा खान हुन्छ।

डेंगु संक्रमितहरुले खान मन लाग्यो भने मासु खादा पनि हुन्छ तर भुटेको तारेको भन्दा पनि झोल सहितको मासु खानु राम्रो हुन्छ। डेंगु का बिरामीलाई धेरै झोलिलो खानेकुराको आवश्यक पर्ने हुँदा धेरै चिल्लो नभएको झोलिलो मासु खानु राम्रो हुन्छ। तर रातो मासु भन्दा कुखुरा माछा अर्थात सेतो मासु खादा राम्रो हुन्छ। यसका साथै फलफूल सलाद प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानु पर्छ ।