काठमाडौँ — सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ ।
जसपाको शनिबार बसेको बैठकले सिट बाँडफाँटमा गठबन्धनले आफ्नो पार्टीलाई थोरै मात्र सिट दिन तयार भएपछि अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो । केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरे लगत्तै जसपाको नेतृत्व र एमाले नेतृत्वबीच संवाद सुरु भएको हो ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई एमालेसँग जसपा चुनावी तालमेल गर्न इच्छुक रहेको र शनिबारबाटै संवाद सुरु भएको बताउँछन् ।
एमाले नेताहरूका अनुसार अध्यक्ष केपी शर्मा ओली मङ्सिरमा हुने निर्वाचनमा लोसपाभन्दा पनि जसपासँग चुनावी तालमेल गर्न बढी इच्छुक छन् । त्यही भएर लोसपासँगको संवाद खासै अघि बढ्न नसकेको नेताहरू बताउँछन् ।
ओली निकट एक पदाधिकारी भन्छन्, ‘विगतको चुनावी परिणाम, संगठन र मतदाता हेर्दा लोसपा भन्दा जसपासँग तालमेल गर्नु एमालेका लागि लाभदायी देखिन्छ । अध्यक्ष ओली आज सोमबार गृह जिल्ला झापा जाँदैछन् । उनी टिका लगाएरमात्रै काठमाडौँ फर्कने भएकाले टिकापछि मात्रै टिकट वितरण गर्ने बुझिएको छ । असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।


प्रतिक्रिया