काठमाडौँ — काठमाडौँ महानगरपालिकाले अवैध ढंगबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रमलाई दसैँका बेला पनि जारी राख्ने भएको छ । ६ भदौयता ५६ स्थानका एक सय ३५ संरचना भत्काइएको महानगरले दसैँको बिदामा पनि अवैध संरचना भत्काउने कामलाई निरन्तरता दिने महानगर प्रमुख बालेन्द्र साहले जानकारी दिएका छन्।
कामपाले अवैध रूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम नरोकिने भन्दै यसलाई दसैँँको समयमा पनि निरन्तरता दिने कामपा नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।
अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ ।
काठमाडौँ महानगरपालिकाले अवैध रूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् ।
काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यकाबाहिरका स्थानीय तहले पनि यसलाई बिस्तारै अनुसरण गर्न थालेका छन् ।
प्रतिक्रिया