काठमाडौँ — दसैँको रौनक छाउँदै गर्दा युवाहरु भीसा च्यापेर देश छोड्न बाध्य, हातमुख जोड्नकै लागि चाडपर्व नभनी विदेशीनु परेको दुखेसो, स्वदेश फर्किनेहरुको अनुहारमा भने देखियो उल्लास । संयोग यस्तो परेको छ कि, दशैंकै मुखमा पनि जन्मभूमि छोडेर विदेशीरहनु परेको छ । विभिन्न प्रयोजनका लागि देश छोड्नेहरु बनावटी मुस्कान छर्दै आमा बुबालाई अनेक आश्वासन दिँदै विमानस्थलबाट उडिरहेका छन् ।
यतिबेला नेपालीहरुको महान् चाड बडादशैं घरदैलोमा नै आइसकेको छ । विदेशीएका कयन् नेपालीहरु चाड मान्नकै लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिरहेका छन् । विमानस्थलमा स्वदेश फर्किनेहरुमा देखिएको उत्साह र उमंग मात्र होइन, बिछोडका दृश्यहरु पनि देखिने गरेको छ । चाडपर्वको मुखैमा धेरै नेपालीहरु दैनिकी टार्नका लागि विभिन्न प्रयोजन देखाउँदै परदेश हान्निरहेका छन् ।
संयोग यस्तो परेको छ कि घर आँगनमा दशैं त आया,े त्यसैको साथसाथै विदेशबाट भिषा पनि आयो । देशमा भविष्य नदेखेर विदेशीनु आफैमा पीडाको विषय हो । आफ्नो घर, परिवार, साथी भाई छोड्दा सबैको मन गरुङ्गो त हुन्छ नै । त्यसमाथि पनि चाडवाडको मुखैमा बाहिरिनु पर्दा त्यसले थप पीडा दिएको छ । जति पीडा भए पनि युवाहरु हसिलो मुहार बनाउँदै देश छाड्ने बेलामा आमा बुबालाई विभिन्न सपना देखाइरहेका थिए ।
देवी भवानीको प्रसाद स्वरुप टीका–जमरा लगाउने सयममा बिदाइको टीका लगाएर विमानस्थलमा हिडिरहेका हर कोहीको अनुहार अध्यारो र मलिन देखिन्थ्यो । चाडवाडको समयमा परिवारसँग रमाइलो गर्ने चाहना हुँदाहुँदै पनि देशको परिस्थितिका कारण उनीहरु एक्लै दशैं मनाउन बाध्य छन् । उच्चशिक्षा हासिल गर्न हिडेकाहरु दुःख लुकाएरै भए पनि हास्दै विदा हुने परेको छ ।
विमानस्थलमा यस्ता पीडादायी व्यथा अधिकांशमा देखिन्छ । यसरी देशमा भविष्य नदेखेपछि कोही पढ्ने बाहनामा त कोही श्रम नै गर्न विदेशीएको सत्य कोही कसैसँग लुकेको छैन । यहाँ बसेर दशैं त मानिएला तर, गुजारा कसरी टार्ने ? विदेशीनेहरु चिन्ता प्रकट गर्छन् । चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि विदेशीने नेपालीको आकडा डर लाग्दो छ ।
गत महिनाकै तथ्यांक हेर्ने हो भने पनि ५० हजार भन्दा बढीलेश्रम स्वीकृति लिएर विदेशीएका छन् । यसरी बाहिरिनेहरुको मुख्य गन्तव्य कुनै आर्थिक रुपले सम्पन्न वा विकशित राष्ट्र नभई खाडी मुलक पर्ने गरेको छ । हातमा टिकट, भिसा र पासपोर्ट बोकेर विदेशीनका लागि लाईनमा बसेकाहरु र ५० डिग्रीको चर्काे घाम सहेर खाडीमा पसिना बगाउनेहरु एक सुनौली बिहानीको प्रतीक्षामा बसेका छन् ।
प्रतिक्रिया