Breaking

आयोगद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक

२६ गते चुनाव चिह्न दिने


काठमाडौँ — निर्वाचन आयोगले असोज २६ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । आयोगले असोज २३ गतेदेखि २६ गतेसम्म मनोनयन दर्ता गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय गरेको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार हुनका लागि मनोनयन दर्ताको मितिसम्म २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले मात्रै उम्मेदवारी दिन सक्ने जनाएको छ ।

यस्तै उम्मेदवार हुन इच्छुक व्यक्ति कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने पनि जनाएको छ । मनोनयन पत्र दर्ताका लागि उम्मेदवार आफैं उपस्थित हुनुपर्ने वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकले निर्वाचन अधिकृत समक्ष दर्ता गर्नुपर्ने छ ।

सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका व्यक्ति उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाउने आयोगले व्यवस्था गरेको छ ।

त्यस्तै उम्मेदवार आफैं अरु कुनै उम्मेदवारको प्रस्ताव वा समर्थक बन्न नहुने आयोगले जनाएको छ । आयोगले मनोनयन पत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार धरौटी जम्मा गर्नुपर्ने पनि बताएको छ । आयोगका अनुसार महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट दिइने छ ।