Breaking

दशैंको छैटौँ दिन : आज कात्यायनीको पूजा आराधना गरिँदै


काठमाडौँ — दशैंअन्तर्गत नवरात्रको छैटौँ दिन आज शनिबार दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ । उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ ।

नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको बध गरेको शास्त्रीय मान्यता रहेको छ ।

दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

दूर्गा कवच मन्त्र :

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति। चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति।महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।