देश

गोठाटार हत्यामा संलग्न तीनजना सार्वजनिक


काठमाडौं — काठमाडौंको गोठाटारमा गत असोज ३ गतेको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई सार्वजनिक गरेको छ । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गोली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका–१५ निवासी १९ वर्षीय रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका–१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तान रहेकी छन् । मोहरमले उक्त हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीको दाबी छ । त्यस्तै, रेहानले हत्या योजनामा सहयोग गर्नुका साथै हतियार व्यस्थापनमा सघाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुस्मिताले भने लाल मोहमदको गतिविधिको निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन् ।

असोज ३ मा साँझ सर्लाही सिसौरिया–६ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गरिरहेका ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी हत्या गरेका थिए । प्रहरीले उक्त हत्याकाण्डमा प्रयोग भएको एउटा पेस्तोल पनि बरामद गरेको छ । प्रहरीका अनुसार मेड इन युएसए लेखिएको पेस्तोल एक थान, २।९ एमएमको खोका ४ र ३।९ एमएमको प्रयोग नभएको चार राउन्ड गोली पनि बरामद भएको छ ।