काठमाडौं — निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो कार्यालयको शुभारम्भ गर्दै आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्षरुपमा सम्पन्न गर्न सघाउन आग्रह गरे।
सामाजिक सञ्जालबाट हुन सक्ने दुष्प्रचार, भ्रामक सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न तथा निर्वाचनका समयमा साइबर सुरक्षाको चुनौती कम गर्न नेपाल सरकारका सम्बन्धित निकायले गरी आएको कामलाई निर्वाचनका समयमा प्रभावकारी बनाउन आयोगको प्रेस अफिसमा सम्पर्क व्यक्तिका रुपमा ती निकायबाट प्रतिनिधि राखिएको जनाएको छ ।
निर्वाचनसँग सम्बन्धित दुष्प्रचार, मिथ्या सूचना र घृणाष्पद अभिव्यक्तिको रोकथाम गर्न, निर्वाचनमा हुने बदर मत गत निर्वाचनको तुलनामा कम गर्न यस कार्यालयले भूमिका निर्वाह गर्नेछ । साथै निर्वाचन प्रचारप्रसारमा आमसञ्चार क्षेत्र र सामाजिक सञ्जालसँग साझेदारी तथा सहकार्य अभिवृद्धि हुनेछ । प्रेस कार्यालयले सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा भ्रमपूर्ण, अफवाहपूर्ण तथा मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति र सूचना तोडमोड गर्ने व्यक्तिलाई त्यस्तो सामग्री, सूचना सामाजिक सञ्जालबाट तत्काल हटाउन लगाउने, त्यस्तो व्यक्तिलाई कानूनबमोजिम तत्काल कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउने र यसरी कारवाही गर्ने सम्बन्धमा कुनै जटिलता देखिएमा निर्देशक समितिसमक्ष रायसहित पेस गर्ने प्रबन्ध गरिएको छ ।
आयोगले सञ्चारमाध्यममाथि अनुगमन र कारबाही प्रेस काउन्सिलल नेपालले गर्ने भएकाले आयोगले सञ्चारमाध्यममाथि कुनै कारबाही गर्ने तयारी नगरेको स्पष्ट गर्दै सञ्चारमाध्यमले निर्वाचनका समयमा स्वनियमनको नीति कार्यान्वयन गरी निर्वाचन आचारसंहिताको पालनामा सघाउन आग्रह पनि गरेको छ ।
प्रतिक्रिया