विदेश

युक्रेनका चार वटा क्षेत्र रूसमा गाभिएको घोषणा गर्दै पुटिन


काठमाडौँ — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज छिमेकी युक्रेनका चार वटा क्षेत्र रूसमा गाभिएको घोषणा गर्दैछन् । स्थानीय समय अनुसार शुक्रबार दिउँसो एउटा समारोह आयोजना गरेर पुटिनले युक्रेनका डोनेत्सक, लुहान्स्क, खेर्सोन, जापोरिज्जिया क्षेत्र रूसमा गाभिएको घोषणा गर्न लागेको द गार्डियनले जनाएको छ । हस्ताक्षर समारोहमा युक्रेनको उक्त क्षेत्रका पृथकतावादी नेताहरू पनि सहभागी हुनेछन् । त्यसपछि पुटिनले सम्बोधन गर्ने कार्यक्रम छ ।

आजै मस्कोको रेड स्क्वायरमा कन्सर्टको पनि आयोजना गरिएको छ । पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेका थिए। विशेष कारबाहीको नाम दिइएको उक्त आक्रमणको ६ महिनापछि ती चार क्षेत्रमा रूसमा गाभिने कि नगाभिने भन्ने विषयमा जनमत संग्रह गरिएको थियो ।

हतियारधारी सैनिकहरूसहित मतदान अधिकारीहरू मतपेटिका बोकेर घर(घरमा गएका थिए । चार दिनसम्म चलेको भनिएको जनमत संग्रहको नतिजामा बहुमतले रूसमा गाभिने पक्षमा मत दिएको मस्कोले जनाएको थियो । रूसले गाभ्न लागेको क्षेत्र युक्रेनको कुल क्षेत्रफलको १५ प्रतिशत हो। यसअघि सन् २०१४ मा पनि रूसले ठ्याक्कै यही शैलीमा क्रिमियालाई रूसमा गाभेको थियो । युक्रेनका थप क्षेत्रलाई रूसमा गाभ्ने कदमलाई अमेरिका, बेलायतलगायत मुलुकले भन्ने मान्यता नदिने बताएका छन् ।