काठमाडौँ – नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्दसूची सच्याइरहेको छ ।
बन्दसूची सच्याउन प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा समानुपातिकको बन्दसूची सच्याइरहेको एक पदाधिकारीनिकट स्रोतले जानकारी दिएको छ ।
सभापति देउवाले बिहीबार पनि बन्दसूची संशोधनका लागि पदाधिकारी बैठक बोलाएका थिए । उक्त बैठकमा शुक्रबारसम्म बन्दसूची संशोधन गरेर आयोगमा बुझाउने सहमति भएको बताइएको छ ।
यसअघि असोज ३ गते बुझाइएको बन्दसूची एकलौटी भएको भन्दै संस्थापनइतर समूहले आपत्ति जनाएको थियो । उक्त समूहले ‘समान अवसर र न्यायका निम्ति’ भन्दै खबरदारी सभा, सानेपामा धर्ना र चियापान कार्यक्रम गरेको थियो ।


प्रतिक्रिया