Breaking

दशैँको शुभकामना दिँदै पूर्वराजाको आक्रोश : पथभ्रष्ट नेता, सत्ता स्वार्थको गठबन्धन दुर्भाग्य (भिडियोसहित)


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह देशको शासन व्यवस्थामाथि आक्रोशित बनेका छन् ।

भिडियो सन्देश मार्फत दशैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । यस्तै उनले न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको बताएका छन् । शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले भ्रष्टाचारले शासक पथभ्रष्ट हुँदै गएको टिप्पणी गरेका छन् ।

शाहले शुक्रबार बिहान भिडियोमार्फत् सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताएका छन् ।

नेपाल देशी विदेशीहरूको क्रीडाभूमि भएको जनगुनासो रहेको बताए । ‘नेपाल निरन्तर देशी विदेशीहरूको क्रीडाभूमि पनि भयो भन्ने जनगुनासो छ। त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिको पुनस्निर्माणमा ध्यान दिनु देखिन्छ। नेपाललाई फेरि महान बनाउनु परेको छ’, पूर्वराजा ज्ञानेन्द्रले भनेका छन् ।

रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेशिरहेकोमा उनले चिन्तासमेत व्यक्त गरे। पूर्वराजा ज्ञानेन्द्रले हाम्रा कुनै कार्यले देशले कहिल्यै हार्न नहुने बताए ।

उनले भनेका छन्, ‘व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन । राष्ट्रिय प्रजातन्त्र, मौृलिक मान्यताह र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’