Breaking

काठमाडौँमा यात्रुलाई टिकटमा ठगी गर्ने ३३ जना पक्राउ


काठमाडौँ – काठमाडौँ उपत्यकाबाट दसैँका लागि घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना पक्राउ परेका छन् ।

यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ ।

यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिको निगरानी गर्न सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख ९प्रहरी वरिष्ठ उपरीक्षक० राजेन्द्र भट्टले जानकारी दिए ।

कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्ष्य गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ ।

खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए । बुधबारसम्मको सवारीसाधन खराब अवस्थामा सञ्चालन गर्ने ९८ लाई कारबाही गरिएको छ ।

कतिपय सवारीसाधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उनले बताए । उनले भने, ‘पाङ्ग्रा नै प्वाल पर्न लागेको अवस्थामा समेत चलाएको पाइएको छ ।’

कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।