काठमाडौँ — सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिकाको मूलपानी नजिकै दुर्घटनामा परेको होे ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाङका २१ वर्षीय चालक जितबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली र रिमका ३५ वर्षीय ललित ओली रहेका छन् । जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दसैंको समयमा जीप दुर्घटनामा परेर एकै गाउँका सात जनाको मृत्यु भएपछि कपुरकोट गाउँपालिका–६ जलबाङका स्थानीय शोकमा डुबेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले बताउनुभयो ।
प्रतिक्रिया