Breaking

अमेरिकी उच्च अधिकारी आज नेपाल आउँदै


काठमाडौँ – कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो आज (बुधबार) नेपाल भ्रमणमा आउँदै छिन् ।

विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो आज दिउँसो काठमाडौँ आइपुग्ने भएकी हुन् । अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।

अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ। नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन् ।

पछिल्लोपटक नेपालमा अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमणपूर्ण सूचना दिएको आरोप अमेरिकाले लगाएको थियो । तर चीनले उक्त आरोप अस्वीकार गरेको थियो ।

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले अमेरिकी संसद् सिनेटमा गत जुलाईमा संसदीय सुनुवाइका क्रममा चीनले एमसीसीबारे भ्रमणपूर्ण सूचना फिँजाए पनि नेपालको संसदले एमसीसी परियोजना पास गरेको बताएका थिए ।

त्यसलगत्तै नेपालस्थित चिनियाँ दूतावासले उक्त आरोपको खण्डन गरेको थियो । चिनियाँ दूतावासले अमेरिकी राजदूतको अभिव्यक्ति चीनलाई बदनामी गराउने चालका रूपमा व्याख्या गर्दै राजदूतको भनाइले नेपाल र नेपाली जनताको अपमान भएको बताएको थियो ।

अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टका अनुसार उनले नेपालमा रहँदा अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्नेछिन् । उनले विगतमा अमेरिकी दूतावासको प्रायोजनामा अमेरिका भ्रमण गरेका केही नेपालीसँग पनि छलफल गर्नेछिन् । नेपाल बसाइमा ट्रुडोले अमेरिकी राजदूत सम्पदा संरक्षण कोषले सहयोग गरिरहेका पाटन दरबार क्षेत्र र वसन्तपुर दरबार क्षेत्रलगायत सांस्कृतिक सम्पदा अवलोकन गर्नेछिन् ।