Breaking

गठबन्धनको निर्णायक बैठक आज बस्दै


काठमाडौँ — सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान निर्देशन दिएको छ ।

पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलको बैठक आज (बुधबार) बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

बैठकमा अनिवार्य उपस्थित हुन र अन्य कार्यक्रम नराख्न कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) ले प्रभावशाली पदाधिकारी र नेतालाई आन्तरिक सकुर्लर गरेका छन् ।

पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन् । यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन् ।

निर्णायक भनेर आज तय गरिएको बैठकले प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र र प्रदेश सभाको क्षेत्रबारे सहमति बनाई निर्णय गर्ने भनिएको छ । गठबन्धनबीच संघीय संसद्अन्तर्गत धनकुटा, सल्यान, मोरङ ४ र ५, सुनसरी ४, काठमाडौं २, ३ र ७, सप्तरी १, बारा ३, महोत्तरी ३, धादिङ १ लगायतका क्षेत्रमा कुरा मिल्न बाँकी छ ।

अन्य क्षेत्रमा लगभग सहमति जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए । कांग्रेसले ८५, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने निश्चित भइसकेको छ ।

जसपा र एकीकृत समाजवादीले सिट संख्यामा चित्त बुझाएका छैनन् । कांग्रेसभित्रको तीव्र विवादका कारण आफूले पाउने सिट संख्या बढ्नुपर्ने उसको अडान छ ।

गठबन्धनका नेताहरुले नमिलेको स्थानमा प्रदेशको बाँडफाँट गरेर सहमति गराउने प्रयास गरिरहेका छन् । त्यसबाहेक प्रदेश सभातर्फ पनि २ सय २० क्षेत्रमा सहमति उन्मुख छ ।

सय क्षेत्रमा एकल मात्र दाबी भएकोले ती क्षेत्रमा विवाद नभएको ती नेताले बताए । मंगलबार बसेको कार्यदलको बैठक प्रदेश सभाका ३३० मध्ये २२० क्षेत्रमा सहमति नजिक पुगेको हो ।