काठमाडौँ – बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ ।
देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।
चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।
यसैबीच दशैंको तेस्रो दिन आज पनि देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड लागेको छ । राजधानीभित्र गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली, इन्द्रायणीसहितका मन्दिरहरुमा दर्शनार्थीहरूको पूजा गर्नेहरुको चहलपहल छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो छ ।
प्रतिक्रिया