Breaking

देउवा–प्रचण्डको सात्तो जाने ओली मुभ, मधेशको ‘क्रेज’ थामिनसक्नु, गठबन्धन झनै संकटमा

ओलीको सक्रियता


काठमाडौँ – निर्वाचन आउन दुई महिनापनि बाँकी नरहेका बेला सत्ता गठबन्धन भागबण्डामै अल्झिएको छ । तर गठबन्धनविरुद्ध एक्लै चुनावको तयारी गरेको एमाले मैदानमा होमिएर पल्ला पल्टाउने तयारीमा छ । समकालिन नेपाली राजनीतिका सबैभन्दा चतुर चरित्र हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । सत्तामा भए पनि वा प्रतिपक्ष कित्तामा रहेपनि, चर्चा जहिल्यै ओलीकै हुन्छ ।

ओलीको लोभलाग्दो क्रेजबाट देउवा, प्रचण्ड र माधवहरुसमेत जल्छन् । अब त झन निर्वाचन चलेको छ, ओली शहरदेखि गाउँका चोक चौतारामा भेटिन थालेका छन् । वितेको पाँचबर्षमा ओली तराईमा भेटिएको क्षण सायद निकै दूर्लभ छ । पछिल्लो समय बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि ओली तराई झरेकै थिएनन् ।

अहिले फेरि विर्सिएका, भत्किएका र मेटिएका सम्बन्धमा रंगरोगन गर्न ओली शहीद परिवारलाई भेट्न भान्सासम्म पुगिरहेका छन् । धनुषामा तत्कालिन नेकपा माले हुँदै एमाले निर्माण गर्नेमध्येका एक शहीद रामनारायण मण्डलको भान्सामै अचानक ओली पुगेपछि पार्टी विभाजनका बेला एकीकृत समाजवादीमा गएका शहीदपुत्र अपराजय पनि एमालेमै फर्किए । मुलतः लोसपाका प्रमुख सचेतकसहितका दर्जन बढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन जनकपुर हानिएका ओली रेल चढे । आफैले ल्याएको रेल चढेको बताउँदै मधेशको विकासनै एमालेको साथमा हुने बताए ।

दुईसाताको अवधिमा लगालग मधेश केन्द्रीत दौड चलाएका ओलीले प्रदेश र प्रतिनिधिसभाका सांसदसहित काँग्रेस, माओवादी र मधेशवादी दलका नेताहरुलाई पार्टी प्रवेश गराएका छन् । स्थानीय तहको निर्वाचनपछिमात्रै एक लाखभन्दा बढी एमालेमा आएको ओलीको आँकडा छ । मधेश क्षेत्रमा ओलीको जति क्रेज देखियो, विरोधका नाममा कालोझण्डा पनि देखिए ।

एकबर्षअघिमात्रै पार्टी फुट्यो, ओली न आत्तिए न मात्तिए । फुटेर जाने माधव नेपालले क्षति पु¥याएपनि त्यसको भरपाई गर्नकै लागि ओली थप आक्रामक बनेका छन् । कार्यकर्तालाई उर्जा भर्न र गठबन्धनविरुद्ध आगो बाल्न ओलीलाई कसैले भेट्टाएको छैन ।

आफ्नो उद्देश्यमा निकै अडिग देखिएका ओली निर्वाचनपछि सत्तामा फर्किहाल्छन् कि भन्ने डर सत्ता गठबन्धनमा आवद्ध दलहरुलाई छ । ओली पार्टी जिताउन देशभरका निर्वाचन क्षेत्रमा छरिएका छन्, भागबण्डामै फसेको गठबन्धनका नेताहरु आफैलाई मात्र जिताउन आफ्नै क्षेत्रमा छन् ।

ओलीलाई पार्टीमा बा भन्नेहरुको जमात छ, पार्टी बाहिर पनि भोट नदिनेहरुले मन दिएका हुन्छन् । ओली आफैमा ४८ सालयता कुनै संसदीय निर्वाचनमा हारेका छैनन्, शिवाय ६४ को बाहेक । ६४ को संसदीय निर्वाचनमा माओवादी उभारले ओलीलाई हारको स्वाद चखाएका थियो । अहिले पनि पाँच दलको घेराबन्दी तोड्न ओलीलाई फलामको च्यूउरा चपाए जस्तो छ । फलतः जसरी पनि भोट र जसरी पनि जितको सिद्धान्त ओलीको अर्जुनदृष्टि बनेको छ ।