Breaking

विकासको नाममा संरचना भत्काउन दिँदैनौँ : मन्त्री श्रेष्ठ


काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ जस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नु नहुने बताएका छन् ।

आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताएका हुन् ।

पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने भन्दै श्रेष्ठले काठमाडौँलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए। पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

‘काठमाडौँ उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौँको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । शहरका पहिलाका घरहरू जस्ता छन् त्यस्तै राख्नुपर्छ। साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरू गर्नुहुँदैन’ उनले भने । अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए ।