समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु


काठमाडौँ – काठमाडौँ दाङ र कैलालीमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । काठमाडौँको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक को मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट ३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन्। बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराति पौने २ बजे आपसमा ठोकिएका हुन्।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री दाङकै दंगिशरण गाउँपालिका ४ वैवाङका ५९ वर्षीय शालिकराम वलीको मृत्यु भएको छ। तुलसीपुरबाट गुम्राह चोकतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

त्यस्तै कैलालीको टिकापुर नगरपालिका २ कोठारपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री स्थानीय ७० वर्षीय भोकारी थारुको मृत्यु भएको छ। गएराति से ६ प ३१८१ नम्बरको मोटरसाइकलले थारु सवार साइकललाई ठक्कर दिएको थियो।