Breaking

जातीय कुरा गरेर नेता बन्न सकिँदैन : मन्त्री चौधरी


काठमाडौँ – सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने बताएका छन् । थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री चौधरीले अबको दुनियाँमा जातीय कुरा गरेर कोही पनि नेता बन्न नसक्ने बताए ।

“हिजो एउटा समय थियो, जहाँ एउटा रंगको मान्छे अथवा जेठो छोरोले अथवा एउटा वंशले देश चलाउँथ्यो । तर अहिले समय निकै बदलिसकेको छ,” उनले भने, “अबको दुनियाँमा आपसमा लडाएर, जातीय कुरा गरेर, समाजलाई विभाजित गरेर कोही पनि नेता, सांसद वा मन्त्री बन्न सक्दैन । नेता बन्न त समाजका मुद्दा, समाजका समस्या बोक्नुपर्छ ।”

सीमान्तकृत जनजातीहरुलाई राज्यको मुल धारमा ल्याउन जरुरी रहेको बताउँदै सहरी विकासमन्त्री चौधरीले दलहरुलाई गाली गरेर, नेतालाई गाली गरेर, दाजुभाइमा झगडा गरेर वा विभाजित भएर समस्या हल नहुने बताए ।

“राजनीतिक दलहरु असफल भए । तिनका विचार, तिनका दृष्टिकोण कमजोर भए । अब पुराना दलहरुले जनताको समस्या हल गर्न सक्दैनन् । त्यसैकारणले जनताले आज विकल्प खोज्न थालेका छन्,” उनले भने, “फराकिलो सोँच भएका, समाजका समस्या पहिचान गर्न सक्ने, जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने र सबैलाई मिलाएर लान सक्ने नेताको खाँचो रहेको छ ।”

सरकारले नागरिकता नभएका लाखौँ जनताका समस्या हल गर्न नागरिकता विधेयक ल्याएको तर विविध कारणले अट्किएको बताउँदै मन्त्री चौधरीले उक्त विषय अदालत प्रवेश गरेकाले छिट्टै जनताको पक्षमा फैसला हुने आसा व्यक्त गरे ।