Breaking

बालेन र हर्कपछि हौसिएको स्वतन्त्र उम्मेद्वार, शीर्ष नेतालाई चुनौति कि अवसर ?


काठमाडौँ — आगामी मंसिर चार गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । राजनीतिक दलहरु उम्मेदवार चयनको सकसमा छन । नेताहरु अनेक जोडवल गरेरै भए पनि टिकट हत्याउने र आफ्नो सिट सुरक्षित गर्ने दौडधूपमा छन । यता आफ्नो निर्वाचन क्षेत्र सुनिश्चित भइसकेका उम्मेदवारहरु अहिलेदेखि नै मतदाताको घरघर चहार्न थालेका छन ।

राजनीतिक दलहरुले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूचि निर्वाचन आयोगमा पेश गरिसकेका छन । प्रत्यक्षतर्फ आगामी असोज २३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । उम्मेदवारका आकाक्षी अत्याधिक हुँदा प्रमुख राजनीतिक दलहरु उम्मेदवार चयनको सकसमा छन् ।

उम्मेदवार छान्नकै लागि सबै काम छाडेर दिनरात छलफलमा जुटे पनि दलहरुलाई उम्मेदवार टुङगो लगाउन धौ धौ परिरहेका बेला स्वतन्त्र र उम्मेदवारी सुनिश्चित भएको उम्मेदवारहरु भने आफ्नो निर्वाचन क्षेत्रमा जनताको घरदैलो अभियान थालिसकेका छन ।

आगामी संसदीय निर्वाचनमा काठमाडौ क्षेत्र नं १ वाट स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा उत्रेका छन शिक्षक, युवा अभियन्ता र सत्याग्रहीका रुपमा परिचित पुकार बम । उनी जेठदेखि नै कुनै न कुनै रुपमा आफ्नो मतदाताको मन जित्न लागि परेका छन । चुनावको मिति निजिकिएसँगै घरदैलो अभियानलाई थप तिव्रता दिइएका छन् ।

उनी अहिले दोस्रो पटक घरदैलो अभियानमा छन । तेस्रो पटक निर्वाचनमा होमिएका बम यो पटक जसरी पनि सफलता प्राप्त गर्ने आशामा छन । त्यस्तै काठमाडौ क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारकै रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका अर्जुन प्रसाईको पनि दैनिकी लगभग उस्तै छ । स्थानीय मतदाताहरुले आयोजना गरेको भेला तथा छलफलमा सहभागी हुने, मतदाताहरुको प्रश्नको जवाफ दिने उनको दैनिकी जस्तै बनेको छ ।

बम र प्रसाई उदाहरण मात्र हुन् । राजनीतिक दलका उम्मेदवारका आकाक्षीहरु टिकट हत्याउने अझै पनि शीर्ष नेतृत्वको घरदैलो धाईरहेका छन भने उम्मेदवार सुनिश्चित भइसकेको स्वतन्त्र र राजनीतिक दलका नेताहरु समेत घरदैलो अभियानमा जुटन थालेका छन । यो लहरमा स्वतन्त्र दावी गर्नेहरु केहि कदम अघि देखिएका छन् ।