Breaking

संविधानको संरक्षकबाट संविधान मिचियोः प्रचण्ड


काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताउनुभएको हो । उहाँले संरक्षकबाट नै जानिबुझि संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धीहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गर्नुभयो ।

उहाँले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि शुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताउनु भयो । उहाँले आफूहरुले शतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘म भन्न चाहन्छु कुरा धेरै गहिरो छ । कुरा धेरै नै गहिरो छ । जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि शुरु भएको छ । त्यो रोकिएको छैन । त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडी ल्याउने जमर्को भइराखेको छ ।

हामीले आफ्नो शतर्कता गुमायौँ भने, हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरु, मजदुरहरु, सुकुम्वासीहरु, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनैपनि दिन प्रतिगमन हुनसक्ने खतरा छ । मैले यो कुरा अमूर्त कुरा गरेको होइन । मैले मूर्त रुपमा भन्दैछु । अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानिबुझि, नजानेर, झुक्किएर भन्ने होइन ।

जानिबुझि संविधान मिच्ने जो काम भएको छ । यो सामान्य होइन । यो हजारौँको बलिदानबाट, लाखौँलाख किसानहरुको, मजदुरहरु, उत्पीडितहरुको आन्दोलनबाट प्राप्त भएका उपलब्धी खोस्ने, अपहरण गर्ने षड्यन्त्रकै एउटा कडी हो । यसलाई रोक्न अरु कसैले सक्दैन । जनताले र परिवर्तनकारी शक्तिहरुको एकताले मात्रै, जनताको पहलले मात्रै यो रोकिन सक्छ । गत कालमा जुन प्रतिगमन हुन खोजेको थियो हामी सडकमा गएर, लाखौँ जनतालाई सडकमा ल्याइसकेपछि मात्रै मुख्यरुपमा त्यो प्रतिगमन त्यतिबेला परास्त भएको हो ।

अहिले संविधान खुलेआम मिच्ने जो प्रयास भएको छ । यसलाई पनि हामीले आम जनताको बीचमा गएर कसरी प्रतिगमन फेरि अगाडी आउँदैछ । कसरी प्रतिक्रान्तितिर देशलाई लैजाने षड्यन्त्र भएको छ भन्ने कुरा हामीले आम जनतालाई शिक्षित तुल्याउने, जागरुक तुल्याउने र आन्दोलित गरेर मात्रै यि प्रतिक्रान्तिकारी षड्यन्त्रहरुलाई, प्रतिगामी षड्यन्त्रहरुलाई परास्त गर्न सकिन्छ ।’

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणिकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । विधेयक प्रमाणिकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उहाँको भनाइ छ । उहाँले प्रतिगमनको फणाहरु उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नागरिकता विधेयक जन्मसिद्ध नागरिक भएका आमा बाबुका छोराछोरीहरुले नागरिकता प्राप्त गर्नुपर्छ भन्ने विधेयकलाई प्रमाणिकरण नगर्ने कसरतभित्र पनि यो संविधान र यो परिवर्तनलाई कहीँ न कहीँ यसमाथि प्रहार गर्ने नियोजित प्रयासहरु भइराखेका छन् । सबै एकजुट भएर आवाज नउठाउने हो भने सडकमा नजाने हो भने प्रतिगमनका यी फणाहरु अहिले जो फेरि उठ्न थालेका छन्, त्यसले डस्नसक्छ परिवर्तनलाई । त्यसको रक्षाको लागि एकतावद्ध भएर अगाडी बढ्ने आजको लागि ज्वलन्त आवश्यकता हो ।’

उहाँले एकथरी मानिसहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेका बताउनु भयो । प्रचण्ड अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको भन्दै सो प्रचार पनि प्राप्त राजनीतिक उपलब्धीहरु उल्ट्याउने षड्यन्त्रको रुपमा भएको बताउनु भयो ।