खेलकुद

बंगलादेशबिरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा


काठमाडौँ — बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रिपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो । कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गर्नुभएको हो । घोषणा गरिएको टोलीमा सुनिल बल र नवयुग श्रेष्ठ समावेश छैनन् भने यसअघिका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् ।

चोटका कारण सुनिल बल टोलीमा नपरेको मुख्य प्रशिक्षका प्रदीप हुमागाई बताउनु भयो । घोषणा गरिएको टोलीमा नयाँ दुई अनुहारले स्थान बनाएका छन् । थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका हुन् । यस्तै, टिममा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान दिएका छन् ।

प्रशिक्षणका दौरान डेंगीको संक्रमण देखिएपछि केही दिन रहेका तीन गोलकिपरसँग प्रशिक्षण गर्न नपाएको कारण सेफ ल्याण्डिङका लागि चार गोलकिपर राखेको प्रशिक्षक प्रदीप हुमागार्इंले प्रस्ट पार्नुभयो । प्रशिक्षणको क्रममा गोलकिपरका अलावा अन्य खेलाडीमा पनि डेंगी भएको बताउनु भयो । डेंगी लाग्नेमा गौतम श्रेष्ठ, विकास खवास, भरत खवास, विशाल श्रेष्ठ, सुरज ज्यु ठकुरी रहेका थिए । नेपालले बंगलादेशसँग त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा असोज ११ गते मैत्रिपूर्ण खेल खेल्दैछ ।
नेपाली टोली –
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक बिष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अञ्जन बिष्ट, आशिष चौधरी