Breaking

कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार


काठमाडौँ – कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका- ५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ललिता बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको हो । ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेको जनाएको छ । रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर बुधबार मात्र घर फर्किएका थिए । घटनापछि उनी फरार भएका छन् ।

शेरबहादुरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।