Breaking

कपन आगलागीमा मृतक ३ जनाको पहिचान खुल्यो


काठमाडौँ – काठमाडौँको कपनमा भएको आगलागीमा मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ ।

गएराति बुढानिलकण्ठ नगरपालिका- ११ राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागीमा मृत्यु हुने तीन जनाको पहिचान खुलेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँ महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

आगलागीमा कपन बस्ने कुशल बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।

गएराति कपनको राम मन्दिर नजिक रहेको इलाइट हिमालयन एडभेन्चर रहेको तीन तले घरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुल्हो बाल्न प्रयोग हुने ग्यास सिलिन्डर विष्फोट भएको थियो । राति पौने ७ बजे लागेको आगो तीन घण्टापछि प्रहरी, स्थानीय, दमकलको सहायताबाट नियन्त्रणमा लिइएको थियो ।