खेलकुद

भारतमाथि अष्ट्रेलियाको शानदार जित


काठमाडौँ — मंगलबार राति भएको भारतविरुद्धको टी-२० क्रिकेटमा अष्ट्रेलियाले ४ विकेटको शानदार जित हात पारेको छ ।

भारतको पञ्जाबस्थित मोहालीमा भएको उक्त खेलमा २०९ रनको विजयी लक्ष्य पाएको अष्ट्रेलियाले खेल सकिन चार बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

अष्ट्रेलियालाई जित दिलाउने क्रममा क्यामरोन ग्रीनले ६१ रनको पाली खेले । त्यस्तै म्याथ्यु वेडले अविजित ४५ रन बनाए । भारतका अक्षर पटेलले ३ तथा उमेश यादवले २ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रन बनाएको थियो । भारतका लागि ठूलो योगफल तयार पार्ने क्रममा हार्दिक पाण्ड्याले अविजित ७१, केएल राहुलले ५५ तथा सूर्यकुमार यादवले ४६ रनको पाली खेलेका थिए ।

अष्ट्रेलियाका लागि नाथान एलिसले ३ तथा जोस हजलवुडले २ विकेट लिए। यससँगै तीन खेलको टी२० सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।