काठमाडौँ — बंगलादेश साफ महिला च्याम्पियनसिपको नयाँ विजेता बनेको छ । केही समयअघि भएको फाइनलमा नेपाललाई हराउँदै बंगलादेश साफको नयाँ उपाधि विजेता बनेको हो । च्याम्पियनसिपको छैटौं संस्करणले भारतबाहेक नयाँ विजेता पाएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले महिला च्याम्पियनसिपमा नयाँ विजेता पाएको छ । सोमबार काठमाडौँस्थित दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टिम नेपाललाई ३–१ ले हराउदै १२ वर्षे महिला साफको इतिहासमा बंगलादेशलाई नयाँ च्याम्पियनको रुपमा पाएको हो । खचाखच भरिएको रंगशालामा १५ हजार ७ सय २० दर्शकको उपस्थितिमा बंगलादेशले ऐतिहासिह उपाधि उचालेको हो । बंगलादेशलाई पहिलो साफको उपाधि दिलाउने क्रममा परिवर्तित खेलाडी साम सुनाहर र श्रीमोती कृष्णरानी सरकारले गरेको गोल काफी रह्यो ।
मोनिका चक्माको बायाँ भागबाट गरेको कटब्याकमा सुनाहरले बललाई सहजै पोष्टको दिशा दिएकी थिइन् । सुनाहर १०औं मिनेटमा जहान सोप्ताको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।यस्तै, ४२औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । नेपालको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै मारिया मन्दाले १८ यार्ड बक्सबाहिरबाट बक्सभित्र बायाँ साइडमा उपलब्ध गराएको बललाई विना कुनै गल्ती कृष्णरानीले चाली चुमाएकी थिइन् । ७०औं मिनेटमा अनिता बस्नेतले नेपालका लागि सान्त्वना गोल गरिन् । त्यसको ६ मिनेटपछि नै बंगलादेशका लागि कृष्णरानी सरकारले अर्काे गोल थप्दा समग्रमा नेपाल ३–१ को अन्तरले हार्न पुग्यो । पहिलो हाफमा नेपालले गोल गर्ने केही सुनौलो अवसर पाए पनि त्यसलाई सदुपायोग भने गर्न सकेन । ३५औं मिनेटमा सरु लिम्बुलाई लडाएपछि नेपालले फ्रिकिक पाएको थियो । लगभग २५ यार्डबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलरक्षक रुप्ना चक्माले बचाउ गरेको थिइन् । त्यही बल बाहिरिदा पाएको कर्नर बललाई बंगलादेशले गोललाईनबाट बचाउन सफल भएको थियो ।
दोस्रो हाफमा अनिता केसीको ठाउँमा सावित्रा भण्डारीलाई मैदान प्रवेश गराए पनि त्यो फलदायी भने हुन सकेन । दोस्रो हाफकै सुरुवाती २ मिनेटमा अर्काे राम्रो अवसर प्राप्त गरे पनि त्यसले गोलको दिशा लिन भने सकेन । ७०औं मिनेटा आएको गोलले केही आशा जगाए थियो । त्यसपछि पटकपटक मौका पाएपनि गोल हुन नसक्दा पुन फाइनलमा निराश हुन पुग्यो ।
समूह बीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ६–० ले स्तब्ध बनाउँदै सेमीफाइनलामा प्रवेश गरेको थियो । फाइनल प्रवेशका लागि साफ च्याम्पियनसिपकै एक मात्र सफल टोली भारतको सामना गर्दा १–० को सनसनीपूर्ण जित निकाल्न सफल भएको थियो । त्यस्तै समूह एमा माल्दिभ्स र भारतलाई समान ३–० ले पराजित गर्दा आठ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको पाकिस्तानविरुद्ध ६ गोल गरेको थियो । समीफाइनलमा पहिलो पटक स्थान बनाएको भुटानलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो ।
नेपाल र बंगलादेशबीच साफ च्याम्पियनसिपमा यसबाहेक पनि तीनपटक र २ मैत्रीपूर्ण गरी जम्मा ५ पटक भेट भइसकेको छ । साफको तीन वटै खेलमा नेपालले बाजी मारेको थियो भने बाँकीको २ खेलमध्ये एकमा जित र एक बराबरीमा सकिएको थियो । हेड टु हेडको तुलना गर्दा नेपाल बलियो देखिए पनि बंगलादेश प्रतियोगितमा गरेको प्रदर्शनबाट भने नेपाललाई चुनौती नै थियो । साबिक पाँचपटकको विजेता भारत सेमिफाइलनबाट बाहिरिएसँगै साफ च्याम्पियनसिपले नयाँ विजेता पाउने टुंगो लागेको थियो । यसअघि नेपालले चार तथा बंगलादेशले एकपटक फाइनल खेल्दा दुवै टिम भारतसँग पराजित भएका थिए । यही खेलबाट नेपालका सिनियर खेलाडी दीपा राई, इन्दीरा राई र पुनम जर्घामगरका लागि अन्तिम रह्यो । उनीहरुले यस लगत्तै सन्यासको घोषणा गरेका छन् ।
प्रतिक्रिया