Breaking

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आज


काठमाडौँ — बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टि आज गरिँदैछ । अन्त्येष्टिमा सहभागी हुन विश्वभरका नेता तथा शाही परिवारका व्यक्तिहरु लण्डनमा भेला भएका छन्। बेलायतमा दशकौँ पछि शाही परिवारका सदस्य तथा राष्ट्राध्यक्षहरूको ठूलो उपस्थिति रहेको बीबीसीले जनाएको छ ।

महारानीको अन्त्येष्टिमा सहभागी हुन राष्ट्राध्यक्षसहित ५ सय बढी विदेशी विशिष्ट व्यक्तिलाई बोलाइएको छ। महारानीको अन्त्येष्टि वेस्टमिनिस्टर ऐबे पश्चिम लण्डनमा हुनेछ ।

त्यहाँ कम्तीमा २ हजार २ सय मानिस उपस्थित हुने अनुमान गरिएको छ । व्यवसायिक उडानबाट लण्डन पुगेका नेताहरुलाई बसमा पश्चिम लण्डन लगिने छ। अन्त्येष्टिमा शाही परिवारका व्यक्तिहरु, युरोपका राजपरिवारका सदस्यहरु, अमेरिकी राष्ट्रपति जो बाइडेन तथा राष्ट्र मण्डल सदस्यका राष्ट्राध्यक्षहरू सहभागी हुनेछन् ।

महारानीको अन्त्येष्टिमा रुस, बेला रुस, म्यानमार, सिरिया, भेनेजुएला तथा अफगानिस्तानका राष्ट्राध्यक्षलाई निम्तो दिइएको छैन। महारानी एलिजाबेथको गत भदौ २३ गते स्कटल्याण्डको एडिनबरामा ९६ वर्षको उमेरमा निधन भएको थियो ।