Breaking

समानुपातिक उम्मेदवार छान्न चार दिनदेखि छलफलमा कांग्रेस


काठमाडौँ — प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ उम्मेदवारको सूची बनाउन नेपाली कांग्रेसले चार दिनदेखि छलफल गरिरहेको छ। शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न छलफल गरे पनि सोमबार बिहानसम्म उम्मेदवार टुंगिएको छैन ।

बालुवाटारमा आज पनि छलफल चलिरहेको छ । केन्द्रीय संसदीय समितिमा छलफल गरेर समानुपातिक उम्मेदवारको सूची आजै दिउँसो केन्द्रीय कार्यसम्पादन समिति बैठक गरी पारित गरेर निर्वाचन आयोगमा पेश गर्ने तयारी छ ।‘पदाधिकारी सबैले प्रत्यक्षतर्फ उठ्न खोज्नुभएको छ । समानुपातिकमा बस्ने शीर्ष नेता कम हुनुहुन्छ,’ एक नेताले भने, ‘हामी सूची बनाउँदैछौं। आजै निर्वाचन आयोगमा बन्दसूची पेश गरिन्छ ।’

कांग्रेसको क्षेत्रीय समितिबाट विधानले तोकेभन्दा बढीका संख्यामा उम्मेदवार सिफारिस हुँदा छनौट गर्न गाह्रो भएको ती नेता बताउँछन्। तलबाट सिफारिस भईआएका र केन्द्रबाट ‘लोकप्रिय’ व्यक्ति खोजेर समानुपातिक उम्मेदवार बनाउने तयारी रहेको ती नेताले बताए । कांग्रेसमा २०७४ मा समानुपातिक बसेका सांसदलाई यसपालि चुनावमा फेरि समानुपातिक दोहोरिन विधानले नै रोकेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न दलहरूलाई समय दिएको थियो । २ दलबाहेक अन्य दलले आज मात्रै समानुपातिक उम्मेदवार सूची बुझाउने तयारी गरेका छन् ।